गण्डकी सरकार बिस्तार : नवनियुक्त ४ मन्त्रीले लिए शपथ

 पोखरा - गण्डकी प्रदेशमा थप ४ मन्त्री नियुक्त भएका छन्। शुक्रबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले मन्त्री बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट म्याग्दीका रेशमबहादुर जुग्जाली मन्त्रीमा दोहोरिएका छन् । उनी यसअघिको नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका थिए ।

वैशाख १४ गते नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। नियुक्त भएको भोलिपल्ट पाण्डेले शपथ लिएका थिए। सोही दिन उनले नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओेवादीबाट सुशीला सिम्खडालाई विनाविभागीय मन्त्री नियुक्त गरे।