राष्ट्रियसभा बैठकमा कस्ले के भने ? 

काठमाडौँ - राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । 

बैठकको विशेष समयमा सांसद कुमार दसौदीले जनतालाई आशा र विश्वास जगाउने कार्यक्रमका लागि सरकारलाई सुझाव दिए। उनले भने, “राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिले गति लिन सक्नुपर्छ । कहाँ कहाँ के के समस्या छन्, त्यो खोज्नु पर्छ। जनताको आशा जगाउने काम गर्नुपर्छ। जनता विदेश गएका गयै छन्, जनता निराश छन् ।” सांसद दसौदीले जनताका मुद्दा उठान गर्दा सरकारले कार्यान्वयन नगरेको गुनासो गरे ।

सांसद जीतेन्द्रनारायण देवले देशको परिस्थितिप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराए। “राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण, गम्भीर र संकटपूर्ण छ। संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेका छौं, समाजवादतर्फउन्मुख हुने प्रतिबद्धता गरेका छौं। ती सबै कुरा राजनीतिक शक्तिका लागि चुनौती बनेका छन्”, उनले भने। उनले समग्र देशको हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

सांसद नरबहादुर विष्टले थुप्रै काम गर्दा गर्दै पनि भ्रष्टाचार र गरिबीले आक्रान्त भइरहेकोप्रति सरकारलाई सचेत गराए। उनले चुनौतीबीच सरकार सार्वजनिक सेवाप्रवाह सहज बनाउन सक्षम भएको बताए ।