'पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा हामी पनि हिँड्नुपर्छ' : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन् । 

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छन् । 

“हामी नेपाली कहिल्यै कसैको अधीनमा नपरेको राष्ट्रका नागरिक हुनुमा गौरवान्वित हुन सकेका छौं । एकीकरणले तयार गरेको आधारभूमिमा उभिएर नै वर्तमान लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न हामी सफल भएका छौं”, शुभकामना सन्देशमा भनिएको छ ।

उनले एकीकृत र अखण्ड नेपाल निर्माण तथा स्वाधीनता रक्षाका लागि जीवन उत्सर्ग गर्ने वीर पूर्खाप्रति सम्मान प्रकट गरेकी छन् । पृथ्वीनारायण शाहले सुरु गरेको भौगोलिक एकीकरणको अभियानलाई अझ विस्तृत र व्यापक बनाई नेपाली जनताको भावनात्मक एकीकरणमार्फत मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधारभूमि समेत त्यसबाट तयार भएको उनको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मुलुकलाई स्वाधीन, आत्मनिर्भर र सुदृढ राष्ट्रिय अर्थतन्त्र भएको राष्ट्र निर्माण गर्ने अभिभारा हाम्रो भएको उल्लेख गरेकी छन् ।