त्रिभुवन बिमानस्थलका कर्मचारी आन्दोलनमा, आजदेखि भन्सारका सबै काम ठप्प गरिने

 काठमाडौँ - त्रिभुवन विमानस्थल सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाइ नभएपछि आजबाट भन्सार ठप्प पार्न लागेका हुन् ।

सामुहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ ।

हिजो उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए। भदौ २७ गतेसम्म पनि माग सम्बोधन नगरेमा पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने बिमानस्थलका कर्मचारीले अग्रिम जानकारी गराएका छन् ।

६० केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरु धमाधम पक्राउ गरेर आतंकित बनाएको उनीहरुको आरोप छ। जसका कारण सो भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै गत भदौ १२ गते १३७ कर्मचारीले सामुहिक सरुवा मागे गरेका थिए। तर, आफनो माग दुई साता लागिसक्दा पनि सुनवाई नभए पछि आइतबारबाट उनीहरु आन्दोलनमा उत्रेका हुन् ।