उत्पादन र रोजगार वृद्धिमा ध्यान दिन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकाससँगै उत्पादन र रोजगार वृद्धिमा ध्यान दिन लुम्बिन प्रदेश सरकारलाई निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका मन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो आग्रह गरेका हुन् ।

 उनले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिएका हुन्।

“अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ। भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन। हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ।  मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधार छन्” सबै मिलेर नागरिकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ।”

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले मुलुकमा विद्यमान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको दावी गरे।

उनले हाल घाटा बजेटमा सरकार सञ्चालन भइरहेको भन्दै आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउनेगरी काम गर्न सबैलाई आग्रह गरे।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन आग्रह गरे।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी हुन्।