प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको पार्टी प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए । “प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गर्‍यौँ,” उनले भने ।

अब बन्ने नयाँ गठबन्धनको विषयमा पार्टीले के गर्छ भन्ने प्रश्नमा उनले संविधान संशोधनको ‘प्याडोरा बक्स’ खोले मात्र पुनः निर्णयमा पुग्न सकिने उनले बताए । “संविधान संशोधनको एजेन्डा हाम्रो हो । अब बन्ने गठबन्धनले प्यान्डोरा बक्स खोल्छ खोल्दैन हामी हेर्छौँ र निर्णय गर्छौँ,” उनले भने ।

असार १७ को मध्यरातमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने निर्णय गरेपछि प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । सोही निर्णय बमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले शुक्रबार पाँचौँपटक विश्वासको मत फेस गर्दै छन् ।