शनिवारसम्म मनसुन सक्रिय हुने, सतर्क हुन आग्रह 

काठमाडौँ - नेपालमा यही असार २९ गते शनिवार बिहानसम्म मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख गरिए अनुसार आगामी शनिवारसम्म मनसुन सक्रिय हुने सम्भावना रहेकोले सतर्क हुन आग्रह गरिएको छ ।

विभागले हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको दक्षिण भूभाग सिमाना आसपास रहेको तथा गए रातिदेखि उक्त रेखा अझ नेपालतिर सरेको जनाएको छ । साथै आज बिहीवारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

विभागले गए रातिदेखि शनिवार बिहानसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ ।