प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीले प्रचण्ड नेतृत्वको सरकारको विपक्षमा मतदान गर्ने निर्णय गरेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

मधेस प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनमतको सरकारलाई विश्वासको मत दिएका थिए । सोही कारण केन्द्रमा जनमतले कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको उनले बताए ।

यही असार १७ गते मध्यरातमा कांग्रेस र एमाले मिलेर सरकार बनाउने निर्णय गरेका थिए । सोही निर्णयबमोजिम असार १९ मा एमालेले सरकार छाडेको थियो । त्यसपश्चात् संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने निर्णय गरेका हुन् । उनले शुक्रबार पाँचौँपटक विश्वासको मत ‘फेस’ गर्दै छन् ।