प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु 

 काठमाण्डौँ - संघीय संसदको दुवै सदनको बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा बैठक अपराह्न  ४ बजे  र राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बस्नेछ ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
राष्ट्रिय सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरूको ब्यहोरा जानकारी गराउने तथा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त प्रस्तावहरू प्रस्तुत गर्नेछन् । उनले आर्थिक विधेयक २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने सहित विभिन्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण पहिलो संसोधन विधेयक, २०७७  का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संसोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । मन्त्री तामाङले नै उक्त संसोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।