लोकसेवा आयोगका तत्कालीन अध्यक्ष रेग्मीसहित १० जनाविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं - लोकसेवा आयोगका तत्कालीन अध्यक्ष माधवप्रसाद रेग्मी, कर्मचारी सञ्चय कोषका तत्कालीन राजश्व सचिव डा. रामप्रसाद घिमिरे र अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लक्ष्मीप्रसाद निरौलासहित १० जनाविरुद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. हरिप्रसाद अधिकारी, कर्मचारी सञ्चय कोषका सञ्चालक गणेश सिंह भण्डारी, नेपाल बीमा प्राधिकरणका सञ्चालक राजु रमण पौडेल, कर्मचारी संचय कोषका पदपूर्ति समितिका अध्यक्ष जितेन्द्र धिताल, अर्थ मन्त्रालयका प्रतिनिधि वसन्तराज तिवारी, लोकसेवा आयोगका प्रतिनिधि राम गोविन्द अर्याल, पदपूर्ति समितिका सदस्य सचिव दामोदरप्रसाद सुवेदीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो।

अधिवक्ता दीपकराज जोशीले उनीहरूलाई अदालतको अवहेलनामा झिकाई सजाय गरी फैसला गरी पाऊँ भन्दै निवेदन दर्ता गराएका हुन्।

कर्मचारी सञ्चय कोषले कर्मचारी भर्नाको विषयमा अदालतबाट भएको यसअघिको फैसला कार्यान्वयन नगरेको हुनाले माथि उल्लेख गरिएका व्यक्तिहरूविरुद्ध फागुन २६ गते रिट दर्ता भएको हो। फागुन २९ गते उक्त रिटको पेशीसमेत तोकिएको छ।