७५ वर्षीय जानकीलाल जव ३८ वर्षकी महिलाको प्रेममा परे...

दाङ - लमही नगरपालिका–९ अमिलियाका जानकीलाल बस्नेत ७५ वर्षको वृद्ध अवस्थामा आफुभन्दा आधा उमेरकी किशोरीको ‘मायाँजाल’मा पर्दा सर्वोस्व गुमाएर घर न घाटको भएका छन्।

तुलसीपुर ५ बस्ने करिब ३८ वर्षीया कमला थापासँग प्रेममा परेका वस्नेत अहिले करिव ५ लाख रुपैयाँ वरावरको १२ कट्ठा १५ धुर जग्गा, सुनचाँदीका गहना र नगद समेत गरी करिव १ करोड वरावरको जायजेथा गुमाएर सडकमा पुगेका छन्।

जानकारी अनुसार वस्नेत गत जेठ अन्तिमदेखि कमलाको प्रेममा परेका थिए। उनीहरुलाई भेट गराउने काम गीता सुनार नामकी महिलाले गरेकी थिईन। सामान्य चिनजानबाट सुरु भएको उनीहरुको सम्वन्ध फोनमा कुराकानी गर्दा गर्दै प्रेममा परे।

आफु ७५ वर्षको भएको र सहारा पनि कोही नभएकाले विवाह गरेर सँगै वस्ने सल्लाह भएको उनले सुनाए। करिब १० वर्षअघि नै श्रीमतीको निधन भएपछि आफू सहारा विहिन भएको उनको भनाई छ। ‘पहिलो पतिसँग डिभोर्सका लागि अदालतमा मुद्दा दिएको र त्यो फैसला भएपछि विवाह गर्ने भनेर बाचा गरेकी थिईन’– उनले भने।

‘मलाई बाँचुन्जेल साथ दिन्छु भनेपछि मैले विश्वास गरें’ वस्नेत भन्छन्–‘त्यसपछि मेरो नाममा भएको सवैथोक कानुनी रुपमै जिम्मा लगाएँ।’ २८ कात्तिक ०७९ मा आफुले १२ कट्ठा १५ धुर जग्गा कमलाको नाममा पास गरिदिएको उनले सुनाए।

भएको जग्गा, गहना र नगद समेत लिएपछि भने कमला सम्पर्कमा आउन छाडेको उनको भनाई छ। त्यसपछि आफु ठगिएको शंका लागेको वस्नेतले वताए । ‘विस्तारै केही जग्गा वेचेको र केही जग्गा बाबा फर्ममा धितोमा राखेर १६–१७ लाख ऋण लिएको भन्ने कुरा सुनें’ वस्नेत भन्छन्–‘त्यसपछि मैले आफू ठगिएको भनेर प्रहरीमा उजुरी दिएको छु। उनलाई प्रहरीले पक्राउ पनि गरेको छ।’

बुढेसकालमा साथ दिने मान्छे खोज्दा झनै सहरा विहिन भएको भन्दै उनले पछुतो मानेका छन्। ‘अब मेरो बस्ने ठाउँ छैन। भएको सम्पत्ति अर्कैको नाममा गरिदिएँ। छोराछोरीले पनि अब हेर्दैनन्। अब त्यो जग्गा फिर्ता पाइनँ भने म मर्नुको विकल्प छैन।’– उनले भने।