राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ।

सोमबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नयाँ सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत पनि नदिने औपचारिक निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।

त्यसैगरी बैठकले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षका रुपमा आवश्यक निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको छ ।

राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचन र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको छ।

दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको अध्यक्ष लिङदेनले बताए।