लाइन काटिएका २३ वटा उद्योगमा तत्काल विद्युत् जडान नहुने

काठमाण्डौँ - नेपाल विद्युत् प्राधिकरणले २३ वटा उद्योगमा काटिएको विजुलीको लाईन तत्कालन नजोड्ने भएको छ । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवादबारे छानबिन गर्न समिति गठन गर्ने र लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको थियो ।

त्यसलगत्तै उद्योगहरूमा लाइन जोडिने अपेक्षा गरे पनि ती उद्योगमा विद्युत् कटौती कायमै छ । डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल नतिरेपछि प्राधिकरणले गत पुस ६ गते विभिन्न उद्योगको लाइन काट्न सुरु गरेको थियो । हालसम्म २४ उद्योग लाइन काटिएकोमा पैसा तिर्न थालेपछि हिमाल स्टिलको मात्रै लाइन जोडिएको छ ।