ललिता निवास प्रकरण : जवाफी बहस सकिए आजै थुनछेक आदेश

काठमाडौँ - ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ। काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज एक जना प्रतिवादीको बहस हुने र त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

“सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला”, दाहालले भने। यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए।

बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो। आज घिमिरेका तर्फबाट वकिलले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। त्यसपछि थुनछेक आदेश आउनेछ। कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो।