सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बसिँदैन् : विश्वप्रकाश शर्मा

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरुमा चुप लागेर बस्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतिका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे।

महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महशुस होला भनेर काँग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महशुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए।

उनले आफूहरुबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबीसमेत गरे। महामन्त्री शर्माले सरकारले मुलुकलाई तत्काल मुनाफा दिने खालको आयोजनाहरुको कामलाई अघि बढाउन जोड दिनुपर्ने आवश्यकता पनि औँल्याए।