नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने


असार २६,काठमाण्डौँ । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पूर्वी खण्डले एक सूचना निकालेर नौबिसे–मलेखु सडक खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको जनाएको छ ।

यो सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी आज रातिदेखि सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक बन्द भएको बेलामा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायलगायतका गाडी भने चल्न सक्नेछन् ।

यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि आयोजनाले जनाएको छ ।