गृहमन्त्रीविरुद्धको मुद्दामा थप कागजपत्र झिकाउन सर्वोच्चको आदेश

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतले थप कागज पत्र झिकाएको छ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार सुनुवाइ सकेपछि उक्त प्रकरणमा थप कागजपत्र मगाउन आदेश गरेको हो ।

न्यायाधीशद्वयको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी प्रकरणमा दर्ता गरिएको उजुरी दर्ता किताब, कास्की प्रहरीमै दर्ता भएको अभियोगपत्र, सरकारी वकिल कार्यालय रुपन्देहीले दर्ता गरेको अभियोगपत्र पनि झिकाउन आदेश दिएको छ ।

त्यसैगरी सर्वोच्चले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदन झिकाउन भनेको छ । अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री लामिछानेले संसद्‍मा बोलेका कुराको प्रमाणित प्रतिलिपि पनि मगाएको छ ।