झापामा  जातीय पहिचान पक्षधरको मसाल जुलुसमा झडप हुँदा दुई दर्जन घाइते 

काठमाडौँ - झापामा मंगलबार साँझ जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा मसाल जुलुस प्रदर्शन गरेकोमा प्रहरीसँग झडप भएको हो । झडपमा केही प्रहरीसहित दुई दर्जन घाइते भएका हुन् ।

प्रदर्शनकारीले ढुंगामुढा गर्दा दमक इलाका प्रहरी कार्यालयका डिएसपीसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै आफूहरुले बोकेको राँकोले प्रहरीलाई प्रहार गर्न थालेपछि स्थिति असामान्य बनेको प्रहरीले जनाएको छ । त्यसक्रममा प्रहरीले कम्तिमा डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दुई जना घाइते भएको प्रदर्शनकारीहरुको दाबी छ । इलाम चुलाचुली घर भएका गजेन्द्र फागो र बिर्तामोड घर भएकी निर्मला लिङ्देन घाइते भएको प्रदर्शनकारीहरुको भनाइ छ ।