सुन प्रकरणमा मुछिएका अध्यागमनका महानिर्देशकलाई नेपाल ट्रष्टको जिम्मेवारी !

काठमाडौँ - राजश्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई सरकारले नेपाल ट्रष्टको कार्यालय सरुवा गरेको छ ।

संघीय मामिला मन्त्रालयमा बसिरहेका अधिकारीलाई अनुसन्धान र कारवाही गर्नुको सट्टा सुटुक्क नेपाल ट्रष्टको कार्यालयको जिम्मेवारी सुम्एिको हो । नेपाल ट्रष्टको सञ्चालक समितिमा पदेन अध्यक्ष रहने गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुन् । अनुसन्धान नसकिँदासम्मका लागि भन्दै जगेडामा राखिएका अधिकारीलाई सामान्य प्रशासनमन्त्री अनिता देवी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँ पठाएका हुन् । गृहमन्त्री श्रेष्ठका विश्वास पात्र मानिएका सहसचिव अधिकारीलाई चीनबाट नेपाल ल्याइएको करिब ६० किलो सुन प्रकरणका मुख्य अभियुक्तसँग नियमित सम्पर्कमा रहेको देखिँदा पनि अध्यागमन विभागबाट तानिएको थियो ।

अधिकारीलाई गत भदौ ७ गते अध्यागमन विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो । अधिकारीलाई बुधबारको मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्टको कार्यकारी सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । गएको साउन ३ गतेको सुन तस्करी प्रकरणपछि पक्राउ परेका र सीआइबीले मुख्य अभियुक्त बनाएका दावा छिरिङसँग अधिकारीको नियमित सम्पर्क रहेको विवरण अनुसन्धानबाट देखिएको थियो ।