कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए कारबाही हुने

काठमाडौँ - घरपालुवा कुकुरलाई सार्वजनिक स्थानमा शौच गराउनेलाई काठमाडौँ महानगरपालिकाले कारबाही सुरु गरेको छ ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालिएको जानकारी दिए। पहिलो दिनमा पाँच कुकुरधनीलाई कारबाही गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए । 

उनले भने, “यसअघि पनि बेलाबेला काठमाडौँ महानगरपालिकाले यस्तो कार्य नगराउन सचेत गराउँदै आएको हो । सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर जफत गर्न लागिएको हो ।”

चार वर्षअघि पनि महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । यसपटक भने काठमाडौँ महानगरपालिकाले विभिन्न वडामा रहेका टोल सुधार समिति तथा क्लबलाई परिचालन गरेर सचेतना कार्यक्रम पनि गरिरहेको छ ।