इजरायलबाट नेपाल फर्किने हो ? यस्तो छ ब्यबस्था 

 काठमाडौँ - इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ ।

अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासले सूचना निकालेर आक्रमणमा मारिएका १० जना नेपालीको शव ल्याउन पनि आवश्यक प्रबन्ध गरिने जनाएको छ । शव नेपाल फिर्ता पठाउने प्रक्रियाको लागि राजदूतावासले इजरायल सरकारसँग आवश्यक समन्वय गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । शनिबार बिहानैबाट भएको आक्रमणमा परी अहिलेसम्म १० नेपालीले ज्यान गुमाएको इजरायलस्थित दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले बताए ।

सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू आक्रमणमा परेका थिए। किवुज अलुमिनमा रहेका १७ जना विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको हो । सोही फार्ममा रहेका विद्यार्थीमध्ये २ जना सुरक्षित छन् । अन्य ४ जनाको उपचार भइरहेको छ भने एक जना बेपत्ता छन् ।