मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तिमा ६३२ जनाको मृत्यु (अपडेट)

मराकेस - मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तिमा ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना घाइते भएका छन्। मोरक्कोको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ ।

भुकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन् । भुकम्पबाट मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका बताइएको छ ।

शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पबाट भयभीत मोरक्कोली मध्यरातमा घर छोडेर भागेका थिए। अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन्। शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख गरिएको छ । रासस