मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई आफ्नै पार्टीले सोध्यो स्पष्टीकरण  

काठमाडौँ । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ ।

जनमतका सांसदसमेत रहेका सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता शरदसिंह यादवले जानकारी लिए । मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरु थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ ।

सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि लागेको छ । ‘
साथै बजेटमा सांसदहरूका लागि पाँच करोड रुपैयाँ दिने विवादास्पद निर्णय गरेकोमा पनि पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण मागेको प्रवक्ता यादवले बताए ।

मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक-एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए ।

१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए । यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए । यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो ।