विमानस्थलबाट उड्नै लाग्दा पार्किङमै फर्काइयो श्री एयरलाइन्सको विमान

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ।

आज (शुक्रबार) बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान  धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमै ल्याइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन्।

अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको विमान एक्कासी फर्काएपछि यात्रुले किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए’, उनले भनिन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए।

प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्’, उनले भने, ‘नागरिक उड्डयनको मापदण्डअनुरूप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रुलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ।’