उपेन्द्र यादवको रिट पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश   

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध दायर गरेको रिट पूर्ण इजलासमा पठाउने आदेश भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार बहस सुनेपछि दल विभाजनविरुद्ध दायर भएको मुद्दामा गम्भीर संवैधानिक व्याख्याको आवश्यकता देखिएको भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको हो ।

न्यायाधीशद्वय फुयाल र श्रेष्ठको इजलासमा परेको रिट हेर्दाहेर्दै मा राखिएको थियो । दोस्रो दिनको सुनुवाइपछि तीन न्यायाधीशको पूर्ण इजलासमा पठाउन आदेश गरेको हो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले ऐन अभावमा नियमावलीमा टेकेर दल दर्ता गरिदिएको थियो । अध्यादेश जारी भएका बेलाको नियमावलीमा टेकेर मूल ऐन नै नभएका बेला दल दर्ता गरिदिएपछि यादवले दर्ता प्रक्रिया गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनले गम्भीर संवैधानिक प्रश्न भएकाले अन्तरिम आदेश माग गरेका छन् । तर, अन्तरिम आदेशका विषयमा निर्णयका लागि भएको छलफलमा पूर्ण इजलासमा पठाउने आदेश भएको हो ।