मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, हवल्दार गम्भीर घाइते  

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिक-५ झगरेबेसीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।  अर्का प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन।

आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कमला नगरपालिका-९ धनुषा घर भई प्रहरी चौकी रत्नावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो।

भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। ठाकुर प्रहरी चौकी रत्नावतीका इन्चार्ज समेत हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेका अनुसार ठाकुर प्रहरी चौकी रत्नावतीका इन्चार्ज समेत हुन्।

सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी सहायक निरीक्षक ठाकुरको सुनकोशी गाउँपालिका-७ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचारका लागी ल्याइपुर्‍याएको भए पनि चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए।

गम्भिर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई भने स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका हेलिकप्टर मार्फत काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पठाइएको प्रहरी उपरीक्षक काफ्लेको भनाइ छ।