सदन अवरोध गर्दै कांग्रेसको प्रश्न : रवि लामिछानेलाई कारबाही किन नहुने ?  

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग सुनुवाइ नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (मंगलबार) सदन अवरुद्ध गरेको छ।

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको पुष्टि हुने धेरै प्रमाण रहेको दाबी गर्दै छानबिनका लागि समिति नबनाइएसम्म सदन चल्न नदिने भएको छ। 

मंगलबार दलहरूबीच कुरा मिल्न नसक्दा झन्डै दुई घण्टा गरी ढिला गरी सुरु भएको बैठकमा कांग्रेसले अवरोध गरेको हो। आफूहरूले निरन्तर उठाउँदै आएको कुरा सरकारले नसुनेकोले बाध्य भएर आज सदन अवरोध गर्न बाध्य भएको कांग्रेस सचेतक सुशीला थिङले बताइन्। 

‘सहकारीमार्फत अबौंको रकम अपचलन भएको कुरा आएको छ। सूर्यदर्शनदेखि ६ वटा सहकारीबाट एक अर्ब रुपैयाँ गोरखा मिडिया कम्पनीमा लगाइएको छ। यसरी यो गैरकानुनी काम गर्नेले दण्ड पाउँछ कि पाउँदैन ?’, सचेतक थिङको प्रश्न छ, ‘यसरी गैरकानूनी रुपमा अर्बौं लिँदाको बखत कम्पनीको प्रबन्ध निर्देशक रवि लामिछानेलाई कारबाही हुन्छ कि हुँदैन ?’

नेतृ थिङले थप प्रश्न गरिन्, ‘अरु भएको भए कारबाही हुनथ्यो होला, तर रवि भएकैले कारबाही नहुने ?’