राप्रपाको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिंदै, ६ हजार प्रहरी परिचालन गरिंदै

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । व्यवस्था परिवर्तनको माग राख्दै राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । आज बिहान ११ बजेबाट काठमाडौंका विभिन्न स्थानबाट र्‍याली निकाल्ने र विरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ । साथै माइतीघरलगायतका सरकारले आन्दोलन गर्न निषेध गरेका निषेधित क्षेत्रहरू तोड्ने योजनामा राप्रपाले प्रदर्शन गर्ने तयारी गरेको छ ।

लोकतन्त्रमा आन्दोलन गर्न पाउने नागरिकको अधिकारलाई सरकार कुण्ठित गरेको भन्दै राप्रपाले निषेधित क्षेत्र आफूहरूलाई मान्य नहुने र शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी हस्तक्षेप भए स्वीकार्य नहुने बताएको छ । राप्रपाले निषेधाज्ञा तोड्ने गरी काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।