कमल थापाको प्रश्न : यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो ?

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन ब्यबस्था प्रमाणित भएको बताएका छन् ।

पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले  १४ महिनामा ४ वटा गठवन्धन, १३ पटक मन्त्रिपरिषद् पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए ।

के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो ? भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे । 

नेताहरुको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले सधैंको लागि देश छोडेर जाने लहर बढेको प्रति राज्य उदासिन भएकोसमेत आरोप लगाए । राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाई सँगै लैजानुपर्ने आवश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक व्यवस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्नेसमेत दाबी गरे ।