स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने

काठमाडौँ - वडाध्यक्षहरुको निधन भएपछि स्थानीय तहका २६ पदमा उपनिर्वाचन हुने भएको छ । पछिल्लो पटक थप तीन जना वडाध्यक्षको मृत्यु भएपछि स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने पदको संख्या २६ पुगेको हो ।

उपनिर्वाचनको मिति घोषणा भएपछि हालसम्म रिक्त रहेका सबै पदको उपनिर्वाचन हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दल दर्ता हुने अघिल्लो दिनसम्म रिक्त भएका पदमा उपनिर्वाचन गर्न सकिने जनाइएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको तयारी भइ रहेको पनि जनाएको छ ।