चीनले बुझायो झण्डै ४० करोडको राहत सामग्री

पोखरा - उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदूत छन् सोङमार्फत जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री बुझेका छन् ।

आज बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झण्डै ३० करोड मूल्य बराबरको सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि चिनियाँ सरकारप्रति कृतज्ञता जाहेर गरे । नेपाल र चीन ऐतिहासिक मित्रदेश भएको, दुवै मुलुक एकअर्काको दुःखमा साथमा रहेको र यो द्रुत सहयोगले त्यसलाई अझ प्रमाणित गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।


त्यसक्रममा राजदुत सोङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूमा श्रद्धाञ्जली र पीडामा परेका जनतामा समवेदना व्यक्त गरे । नेपाल र नेपाली जनताको दुःखमा आफ्नो देशको सधैँ साथ सहयोग रहने र राष्ट्रपति सी चीनफिङले समेत पत्र पठाएर त्यो समवेदना जाहेर गरेको उनले बताए । दुईवटा एयरक्राफ्टबाट चार हजार छ सय ब्लाङ्केट र छ सय टेन्ट आएको छ ।