६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ  

काठमाडौँ । ६ किलो लागुऔषध कोकिनसहित एक विदेशी नागरिक पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार मध्यराति १ बजे लाटभियन नागरिकलाई पक्राउ गरेको हो । फ्रान्सबाट आएका ती नागरिक कतारबाट कतार एयरलाइन्समा काठमाडौं अवतरण गरेका थिए ।

स्रोतका अनुसार उनले साना खेलौना ‘टेडी बियर’ भित्र ६ किलो २४ ग्राम कोकिन ल्याएका हुन् । उनले उक्त कोकिन कहाँ लग्न लागेका थिए भन्ने खुलिसकेको छैन ।

उनीमाथि शंका लागेपछि प्रहरीले जाँच गर्दा कोकिन फेला पारेको स्रोतले बतायो । उक्त कोकिन अवैध बजारमा झन्डै २१ करोड हुनआउने प्रहरीले जनाएको छ ।

यसबारे ब्युरोले बिहीबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।