भ्रष्टाचारमा जन्मकैद सजायको  व्यवस्था गर्न राप्रपाको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचारमा जन्मकैद सजायको व्यवस्था राख्न माग गरेको छ ।

सरकारले संसद्‌मा लगेको भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा भाग लिँदै राप्रपा सांसद रोशन कार्कीले यस्तो माग गरेका हुन् । 

भ्रष्टाचार निवारण ऐनले नै अपराधीलाई उम्कने ठाउँ दिएको भन्दै जन्मकैदको सजाय राख्नुपर्ने उनको भनाइ थियो ।

ऐनले भ्रष्टाचारीलाई उम्किन दिएको छ कि जस्तो लाग्छ । कैदको सजाय कम छ । विदेशमा भागेर हदम्याद पूरा भएपछि आउन सक्छ । त्यसैले जन्मकैद राख्नुपर्छ,” कार्कीले भनिन्, “भ्रष्टाचारमा कैद मात्र राखेर हुँदैन । हदम्याद किन राख्ने ? भ्रष्टाचारी जहिले नि समाउनुपर्छ । हदम्याद हटाउनुपर्छ ।”