गृहमन्त्रीलाई राप्रपा सांसद कार्कीको आग्रह,  ‘फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस्’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्रीलाई आग्रह गरेकी छन्।

सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरिन्।

उनले गृहमन्त्रीले संसदको रोष्टमबाट फाइल बनेको रहेनछ, बनाउँदै छु भन्ने अभिव्यक्ति दिएको भन्दै कहिले बनाउने र कहिले खोल्ने भनी प्रश्नसमेत गरे। उनले बेचन झालाई शिखण्डीको रूपमा नउभ्याउन पनि आग्रह गरिन्।

सांसद कार्कीले भनिन्, ‘रोष्टममा बसेर गृहमन्त्री भन्नुहुन्छ, फाइल त बनेकै रहेनछ। बनाउँदै छु। फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईंहरूलाई म अनुरोध गर्दर्छु, फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस्। तपाईंहरूले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुस्। कुनै बेचनलाई अगाडि ल्याएर आएर उभ्याएर त्यसलाई शिखण्डीको रूपमा नउभ्याउनुस्।’

उनले विपद् व्यवस्थापनमा गृह मन्त्रालयबाट भएको कामको सम्बन्धमा गृहमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने पनि बताइन्।