समाजवादको एजेन्डा विना एमाले टिक्दैन : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले समाजवादको एजेन्डा विना एमाले टिक्न नसक्ने बताएका छन् ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको शनिवारबाट सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले पछिल्लो समय कम्युनिस्ट पार्टीहरूमा दक्षिणपन्थी अवसरवाद हाबी भएको टिप्पणी गरे ।

एमाले विभाजन र विद्रोहको औचित्य पुष्टि गर्न समेत बाँकी रहेको उनले बताए । नेता खनालका अनुसार दक्षिणपन्थी अवसरवाद र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि एमालेले विद्रोह गरी एकीकृत समाजवादी पार्टी गठन भएको हो । 

चीन आर्थिक सामाजिक रूपमा समाजवादी शक्तिका रूपमा अघि बढिरहेको उनले बताए । चीनलाई कमजोर पार्न अमेरिकाले नेपाललाई प्रयोग गर्न खोजेको उनले आरोप लगाए । चीनलाई कमजोर पार्न अमेरिकाले नेपाली भूमिमा सैनिक अड्डा बनाउने रणनीति बनाएको उनको भनाई छ ।