'मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्नुपर्छ' : प्रधानमन्त्री दाहाल 

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालसम्म अहिलेसम्म चल्दै आएको मुलुकको विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार बुटवलमा लुम्बिनी केवलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्मका योजनावद्ध विकासका प्रयासबाट उत्पादन र रोजगारीको क्षेत्रको प्रगति उत्साहजनक नभएको भन्दै विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका हु्न् । प्रधानमन्त्री प्रचण्डले देशको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले उनीहरूलाई विश्वासमा लिएर देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा आफु रहेको बताए ।

उनले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । मुलुकको अर्थतन्त्रलाई थप चलायनमान बनाउने गरी निजी क्षेत्रका साथीहरूकै सुझावलाई सरकारले हालै सार्वजनिक गरेको आगामी वर्षको बजेटमा पनि समेटेको उनले बताए ।