कर्जाको ब्याजदर २.२५ प्रतिशत बिन्दुले घट्यो, कस्ता ऋणीलाई फाइदा ? 

 काठमाडौँ - वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर निरन्तर घटीरहेको छ । एकै वर्ष यस्तो ब्याजदर २.२५ प्रतिशत बिन्दुले घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा औसत ब्याजदर १३.०३ प्रतिशत रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर १०.७८ प्रतिशतमा आइपुगेको छ ।

यसले वाणिज्य बैंकहरुबाट कर्जा लिने ऋणीलाई ब्याजदर लागत केही घटेको देखिन्छ । यता, विकास बैंकहरुको कर्जाको ब्याजदर १२.५२ प्रतिशत र वित्त कम्पनीको कर्जाको ब्याजदर १३.६१ प्रतिशत रहेको छ ।

कर्जाको ब्याजदर सस्तिएपछि ऋणीलाई कम ब्याज दर पर्न गएको छ । घटेको ब्याजदर नयाँ ऋणीको हकमा तुरुन्तै लागू हुने गर्छन । तर, पुराना ऋणीको हकमा भने बैंकहरुले विस्तारै समायोजन गर्दै जाने गरेका छन् ।