एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित

स्याङ्जा - नेकपा एमाले स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्विरोध निर्वाचित भएका छन् । यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए । 

नवौँ जिल्ला अधिवेशनले ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कार्य कमिटी निर्विरोध निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएका हुन् । 

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई आज शपथ खुवाइने बताइएको छ ।

एमाले स्याङ्जामा नौ हजार पाँच सय ४३ पार्टी सदस्य रहेका छन् ।  नवौँ अधिवेशनमा स्याङ्जाका ११ स्थानीय तहका ९७ वडा कमिटी, पार्टीका जनसंगठन सबैको प्रतिनिधित्व हुने गरी कूल ६ सय नौ प्रतिनिधि सहभागी रहेका थिए ।