राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउनसके देश बन्छ : सुदन किराँती

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्ने बताएका छन् ।

सोमबार काठमाडौँमा गायिक खुशी थुलुङ राईको पहिलो गीती एल्बम खुशीका रंगहरु लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा इमान्दारिताको खाँचो परेको बताए ।

उनले सार्वभौम सत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए। उनले संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि बताए।

उनले भने, ‘सार्वभौमसत्ता सम्पन्न नेपाल त भन्न सक्यौँ। सार्वभौम सत्ता सम्पन्न नेपालमा नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न सकेका छैनौँ। त्यो भनेको एउटा मात्रै आवश्यकता छ। हामी लोकतान्त्रिक गणतन्त्रमा छौँ। वंशीय शासनको अन्त्य गरेका छौँ। संविधानमा सबैको प्रत्याभूति हुने गरी चित्र प्रस्तुत भएको छ। संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ। हामी सबै लागौँ। इमान्दारिताको खाँचो छ हाम्रो देशमा। इमान्दारिताको खडेरी लागेको छ। राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन। राजनीति रुपान्तरण गर्न आवश्यक छ।’