सुनसरीको हरिनगर लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा

काठमाडौँ । सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नम्बर १ र ७ मा कफ्र्यु आदेशलाई कायमै राखेको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

कर्फ्यू लागे पनि स्थानीय नागरिकको दैनिकी नरोकिने उनको भनाइ छ । भेला, जुलुस,र्‍यालीलाई मात्रै कडाइ गरिएको तर किनमेल र अरु कामको लागि हिँडडूल गर्न नरोकिएको उनले जानकारी दिए ।

गएको बिहीवार एसईईको क्रममा हरिनगर गाउँपालिका–१ मा रहेको बालकृष्ण माविमा एक युवालाई कुटपिट गरेको विषयलाई लिएर दुई समूहबीच विवाद शुरु भएको थियो ।

समस्या समाधानको लागि छलफल भैरहेको बेला हिजो एक्कासी एक समूहले प्रदर्शन थालेपछि प्रहरीले केही राउण्ड हवाइफायर र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दा ९ जना प्रहरी घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।