हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : उद्योगमन्त्री  भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्रै १० वटा ऐन संशोधन गरी उद्योग,लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन्।

सोमबार नेपाल हर्बस् तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औं वार्षिक साधरणसभामा उद्योगमन्त्री भण्डारीले सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै लगेको जानकारी दिए ।

उद्योग क्षेत्रमा देखिएका सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताउँदै उनले उद्योगमैत्री कानून बनाएर अन्तिम चरणमा पुर्‍याएको दाबी गरे।

उद्योगमन्त्री भण्डारीले समयानुकूल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयानुकूल अगाडि बढाउने बताए।
मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडीबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने उल्लेख गरे।

उनले करको विषयमा उद्योगी व्यवसायीहरुका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए। उनले विश्व बजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतहरुमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे।

उनले नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनहरुलाई निर्यात गर्ने वातावरण बनाउनुपर्ने बताए। उनले उद्योग नीतिमा भएका अस्पष्टताहरुलाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए।

मन्त्री भण्डारीले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए।