केपी ओलीको टिप्पणी– इमान र लाज नभएको सरकार गैरजिम्मेवार भएर बसिरहेको छ

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् । मेची–महाकाली अभियानअन्तर्गत बिहीबार वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताएका हुन् ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनु पर्ने ओलीको भनाइ छ । उनले अहिलेको सरकारले स्वाधीनता कमजोर बनाएको र विकासका काम ठप्प पारेको अरोप लगाए । ओलीले अहिलेको सरकार असफल सरकार भएको जिकिर गरे ।

“अहिलेको सरकार असफल मात्रै होइन, चरम असफल सरकार हो । गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेको छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार हो,” एमाले अध्यक्ष ओलीले भने, “सरकारमा बसिरहन लाज नमानेर, लाज नलागेर कसरी बसिरहेको छ अचम्म लाग्दो छ ।”

राजनीतिक अस्थिरता र अराजकता बढेको भन्दै उनले जनतामा निराशा र अन्योल बढेको बताए । ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको ओलीको आरोप छ ।