पहिरो पन्छाएजस्तै वर्तमान सरकारलाई पन्छाउन ढिला भइसक्यो : रामहरि खतिवडा   

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई पहिरो जस्तै पन्छाउन हतार भइसकेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन् । “बाढीपहिरोले देशभर सडक अवरुद्ध गरेको छ । सदन पनि सरकारले अवरुद्ध गरिदियो,” उनले भने, “देशव्यापी रूपमा बाढीपहिरो पन्छाउने काम सडकमा गरेझै सदनमा पनि सरकारलाई पन्छाउने काम गर्नुपर्‍यो । नभए बाटो छेकेजस्तो भएको छ ।”

ओखलढुङ्गाको पहिरे खोलामा पुल निर्माणका लागि प्रदेशलाई टेन्डर गर्ने अधिकार दिइएको र उक्त टेन्डर आह्वान भएर पनि रद्द भएको उनले सुनाए । पहिरे खोलामा पुल नभएर मानिसहरु आवतजावतको समस्या रहेको उनले बताए ।

‘पुल नहुँदा आवतजावतमा समस्या परेको छ । हाम्रो फोटो राखेर ‘रीप’ समेत लेख्ने काम भएको छ । यथाशीघ्र टेन्डर गरेर पहिरे खोलामा पुल निर्माण गरियोस्,’ उनले भने ।