निषेधित क्षेत्रहरु तोडेर प्रदर्शन गर्छौ, अवरोध सिर्जना नगर्नु होला : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत २७ गते पार्टीले निषेधित क्षेत्रहरु तोडेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रदर्शनकारीलाई उत्तेजित नबनाउन र मुठभेड ननिम्त्याउन सरकारलाई चेतावनी दिएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरी उनले कथित रुपमा सरकारले तोकेका निषेधित क्षेत्रहरु राप्रपालाई मान्य नभएको बताएका हुन्। 

उनले राप्रपाले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने बताउँदै सरकारले प्रदर्शनकारीलाई उत्तेजित नबनाउन र अवरोध सिर्जना नगर्न आग्रह गरे।

अध्यक्ष लिङदेनले निषेधित क्षेत्र घोषणा गरेर विरोध प्रदर्शनलाई साँघुरो बनाउने प्रयत्न राप्रपालाई स्वीकार्य नरहेको बताए। 

‘हाम्रो आन्दोलनमा हिंसात्मक गतिविधि हुँदैनन्, तोडफोड हुने छैन। तर सरकारले जुलुसलाई उत्तेजित बनाउने, अवरोध सिर्जना गर्ने काम नगरोस्‚’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीलाई म विशेष के आग्रह गर्न चाहन्छु भने पछिल्ला दिन संविधानले नै दिएको सुविधा, विरोध प्रदर्शन गर्न पाउने, सभा सम्मेलन गर्न पाउने प्रजातान्त्रिक अधिकार कुण्ठित गर्दै निषेधित क्षेत्र घोषणा गरेर साँघुरो बनाउने प्रयत्नहरु भइरहेको छ‚ जुन राप्रपालाई स्वीकार्य छैन।’

उनले प्रदर्शन शान्तिपूर्ण हुने, सर्वसाधारणलाई असुविधा पुग्ने कुनै क्रियाकलाप नगर्ने पनि स्पष्ट पारे।

‘राप्रपाले मुख्य सडकमा जुलुस निकाल्नेछ। जनसाधारणलाई असुविधा हुने कुनै क्रियाकलाप गर्ने छैन। त्यो क्रममा कथित निषेधित क्षेत्र घोषणा गरेर सरकारले अवरोध गर्न खोज्यो भने त्यसको प्रतिरोध गर्नेछौँ र प्रतिवाद गर्नेछौँ‚’ उनले चेतावनी दिए‚ ‘निषेधित क्षेत्रहरु राप्रपाले तोडेर अघि बढ्नेछ‚ सरकारले मुठभेडको स्थिति निर्माण नगरोस्।’