गण्डकीमा कांग्रेसले भन्यो-'सभामुखसहितको दाबी पेस असंवैधानिक छ, खगराज मुख्यमन्त्री हुँदैनन्'

पोखरा - नेपाली कांग्रेस गण्डकी प्रदेश गठबन्धनले पेस गरेको दाबी गर्न असंवैधानिक रहेको प्रतिक्रिया दिएको छ ।
गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ दीपक मनाङको समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।

सभामुख कृष्ण धिताललाई पनि माओवादी संसदीय दलकै सदस्यका हैसियतमा गठबन्धनले दाबी पेस गरेको थियो । गठबन्धनले दाबी पेश गरेपछि गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पेस गरेको दाबी जालझेलपूर्ण रहेको बताए ।

यसअघि कोशीमा सभामुखलाई समेत सत्ता निर्माणमा प्रयोग गरिएको भन्दै सर्वोच्चमा परेको रिटको फैसलामा पनि सभामुखलाई समावेश गर्न नपाइने नजिर बसालेको पाण्डेले सुनाए । उनले ३१ जनाकै सनाखत हुनुपर्ने माग राखे ।

पाण्डेले सभामुखले पदबाट नहटीकन समर्थन गर्न पाइँदैन भनेर सर्वोच्च अदालतको मर्म रहेको बताए । बहुमत सदस्यको हस्ताक्षरसहित बुझाउनुपर्ने र बहुमत पुर्‍याउन नसक्ने भएकै कारण दलका तर्फबाट पेश गरिएको पाण्डेको भनाइ छ ।