आठदलीय गठबन्धनको बैठक २ बजे बस्दै‚ शक्ति बाँडफाँटबारे छलफल हुने

 काठमाडौँ - आठदलीय गठबन्धन कार्यदलको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा दिउँसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो ।

बैठकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल हुने बताइएको छ । यसैगरी बैठकले शक्ति बाँडफाँटको विषयमा समेत छलफल गर्नेछन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा ८ दलका दोस्रो तहका नेताहरू सहभागी छन् ।

एमालेको सहयोगमा १० पुसमा प्रधानमन्त्री बनेका दाहालले राष्ट्रपति निर्वाचनको मुखमा कांग्रेससँग गठबन्धन गरेका छन् । हाल सो गठबन्धनमा कांग्रेस र माओवादीसहित नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।