अञ्जन विष्ट बने वर्षको उत्कृष्ट खेलाडी

काठमाडौँ - फुटबल खेलाडी अञ्जन विष्ट वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।

यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए । यस्तै उनले १३ औं साफ च्याम्पियनसीपमा श्रीलंका र बंगलादेशविरुद्ध पनि गोल गरेका थिए । गत वर्ष नै भएको नेपाल सुपर लिग एनएसएलमा उनी सर्वश्रेष्ठ फरवार्ड चुनिएका थिए । उनले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।