बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

 काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।

आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियो ।

२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रुपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै कांग्रेसले स्मरण गरेको छ । उनको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने जनाउँदै कांग्रेसले उनको निधनबाट पार्टी मर्माहत र स्तब्ध भएको जनाएको छ ।