सर्पको टोकाइबाट सुत्केरी महिलाको मृत्यु

 काठमाण्डौँ -  रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । 

मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई गाउँकै घरेलु उपचारले ठीक हुने झारफुक गरेर राखिएको थियो । 

आज बुधबार बिहान २ बजे नवजात शिशुको जन्म दिनुभएकी विष्टलाई रक्तस्राव समेत भइरहेको थियो । उनलाई उपचारका लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।  

उनका अनुसार सर्पको विष शरीरमा फैलिएको थियो भने रक्तस्राव पनि रोकिएको थिएन । समयमै अस्पतालमा ल्याएको भए उनको ज्यान बचाउन सकिने अवस्था रहेको प्रशासक गिरीले उल्लेख गरेका थिए । अन्तिम अवस्थामा मात्र सुत्केरीलाई अस्पताल ल्याइएको थियो ।