निलम्बित एसएसपी योगबहादुर पालमाथि कारबाही सिफारिस

काठमाडौं - महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा निलम्बित नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि गम्भीर प्रकृतिको विभागीय कारबाहीको सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले गठन गरेको छानबिन समितिले घटनामा उनको संलग्नता पुष्टि गर्दै कारबाहीको सिफारिस गरेको हो ।

प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले गत शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन थप अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउने प्रहरी महानिरीक्षक कुँवरको तयारी छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखका रूपमा कार्यरत रहँदा गत १९ जेठमा पालले महिला कर्मचारीलाई दुर्व्यवहार गरेका हुन् । बिदामा जान लागेकी एक महिला हवल्दारलाई निवासमा बोलाएर उनले यौन दुर्व्यवहार गरेका थिए । महिला प्रहरीले सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी दिएपछि छानबिन सुरु भएको थियो ।

सोही दिन उनलाई जिम्मेवारीबाट हटाइएकोमा प्रारम्भिक छानबिनपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो । पछि डिआइजीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरिएको हो । समितिले स्थलगत रूपमै अध्ययन गरेको थियो । सबै पक्षसँगको कुराकानी र प्राविधिक विश्लेषणका आधारमा उनले महिला हवल्दारलाई दुर्व्यवहार गरेको प्रस्ट भएको छानबिनमा खुलेको स्रोतले जानकारी दिएको छ ।

बिदामा जान लागेकी कर्मचारीलाई उनले ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनु पर्छ’ भन्दै आफूसँगै बस्न प्रस्ताव गरेका थिए । कार्यालयका अन्य महिला प्रहरीलाई पनि विगतमा त्यसैगरी दुर्व्यवहार गरेको छानबिनमा खुलेको छ । विगतमा पनि यस्ता घटनामा एसएसपी पालमाथि छानबिन हुँदै आएको थियो ।